Thursday, June 24, 2010

कबिता - "मेरो हालखबर, जिउँदो मुर्दा, तिमि उभिन्छौ। श्याम कुमार जि सी


गजल

नसोध मेरो हालखबर घाँटी रेटी मर्दैछु साथी
आत्महत्या कबुल गरी माटो मुनि पर्दैछु साथी

साडेसातले समातेर ईज्जत लुट्न थालेपछि
भिड्दा-भिडदै फुत्किएर भीरबाट झर्दैछु साथी
आत्महत्या कबुल गरी माटो मुनि पर्दैछु साथी

ठुलाठुला सपना बोकी शहरतिर भागी हिंड्दा
आफ्नै लाशको मलामी बनेर गाँउतिरै सर्दैछु साथी
आत्महत्या कबुल गरी माटो मुनि पर्दैछु साथी

प्राणको भिख दिने आफ्नो मान्छे नभेटेपछि
सडिएको तनमनलाई फूलबुट्टा भर्दैछु साथी
आत्महत्या कबुल गरी माटो मुनि पर्दैछु साथी

नदिनु मलाई शब्दसुमन स्राधान्जलि अब रहेनौं भनेर
म त मदै बाँच्ने अभ्यास मात्र गर्दैछु साथी
आत्महत्या कबुल गरी माटो मुनि पर्दैछु साथी

Kabita 1
जब घाऊ उम्लेर छातीभित्र
आँखाबाट पोखिन छाड्छ
त्यहाँ भयानक सपनाहरु
पिरोलिन्छन् \मडारिन्छन्
बिछोडिंदै बिखण्डनमा
जिवनका प्रश्वासहरु!

भित्रभित्रै-
ठोकिन्छन्
लड्छन्
मर्छन्
कुहिन्छन्
बाफिन्छन्
र,बाटो छेकेर
प्रत्येक अबयवमा
विस्फोट हुन्छन्
छाति फुटाउँदै
ज्वलामुखि भएर।

त्यो
रातो-पहेंलो
रगत र पीपको लेदो
निस्तेज आगो भएर बग्छ
कयौं खुशीको फूलबारीलाई
मरुभूमि बनाउँदै।
अहँ,निभ्दैन त्यो-
त्यो बेला
समुद्र फर्काएर त्यो माथि
बगाई नै दिएपनि।

त्यो त-
जिउँदो मुर्दाको विनाशकारी सपनाहरु हो
किन्चित सुन्दैन-
चाहे जति नै सुनाउ
जिवन दर्शनका माहापुराणहरु।

अझै बिन्ति छ!
त्यो सानो घाउ
फुट्न देउ \बग्न देउ
निचोरिन देउ \निको हुन देउ
बरु, घाउको स्पस्ट खाटाहरु नै सही
चोट सहनेहरुको
पीडा श्वासप्रश्वास नरोकी देउ
उसैको छातिभित्र पसेर।

Kabita 2

कविता!
तिमी उभिन्छौ
हरेक साँझ
बाध्यताको दुलही बनेर
क्रित्रिम हाँसो हाँस्दै
सुन्धारामा
रत्नपार्कमा
या ठमेलको ब्यस्त फुटपाथमा
कति कति धाउछन्-
जुवाडे,जड्याहा,भलादमी
र,उन्माद बैशका कलिला अनुहारहरु
अनि वार्गेनिङ् गर्छन्
एकछिनको ओछ्यानका लागि
तिम्रो मोलको।
भैगो यो बेला-
म आफैंले आफुलाई
बेच्नुको अर्थ सोध्दिन
तिमीलाई।

कविता!
तिमी छ्यापछ्यापती क्याबिनभित्र
आँशुको मुहान थुनेर
तान्छौ क्यान्सरको सर्को
रित्याउँछौ नशाका शिशिहरु
र,दिउँसै रात पारेर
जिउँछौ शहरीया जिन्दगी।
भैगो म लथेब्रो मान्छे!
तिम्रो उमेर र बैंश सोध्दिन।
कविता!
तिमी प्रेमलाई विश्वास गरेर
बेचिन्छौ बम्बईमा
आफ्नै प्रेमीबाट।
त्यो यातनाको शिविरमा
तिमी पाउदैनौ
बिष पिउनलाई
तिमी भेट्दैनौ
डोरी झुण्डिनलाई।
या कुनै पनि मौका पाउदैनौ
आफुलाई मार्नलाई।
भैगो
म समवेदनाहीन मान्छे!
तिम्रो पीडासँग लडदिन।

कविता!
तिमी बिदेसिन्छौ-
भोलिका सुन्दर सपनाहरुको
रोमान्चक तस्वीर बोकेर
खतामा(अरबी भाषामा नोकर्नी)बस्न
मरुभुमितिर।
अनि,भोग्छौ-
डोल्मा,कमला,सरिताका
साक्षात् कथाहरु....
भैगो
म आफ्नै देशभित्र निर्वासित मान्छे!
तिमीसँग तिम्रो देश सोध्दिन।
रचना :श्याम कुमार जि सी मुस्कान
फोप्ली ६बल्ली खोला प्युठान नेपाल
हाल :मलय्सि फोन =६०१४३३१२२९३

No comments:

Post a Comment